काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
नेपाली कांग्रेसका लामा एमाले समेतको समर्थनमा साउन ९ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् ।
लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्ने प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा व्यवस्था गरेको छ ।
१२ साउन अर्थात् शनिबार मात्रै सरकारलाई पूर्णता दिएका लामालाई आफ्नै दल नेपाली कांग्रेसको ३७ र सत्ता साझेदार दल नेकपा एमालेको २७ जना सांसदको समर्थन छ ।
११० सदस्यीय प्रदेश सभामा सरकारका लागि ५६ सांसदको बहुमत समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा विपक्षी दल माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुख बाहेक), नेकपा (एकीकृत समाजवादी) को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।
































