हुम्ला । अति दुर्गम ठाउँको परिचय बोकेको जिल्ला हो हुम्ला । सजिलै विकास हुने र देखिने हुम्लाको भुगोल पनि छैन् ।
ठाउँ–ठाउँमा डरलाग्दा चट्टानहरु छन् । भिरैभिर घेरिएको ठाउँ छ ।
त्यसैले त सरकारको अति दुर्गम सूचीमा हुम्ला छ । यस्तो भुगोलमा करिब एक दशकअघिदेखि सडक निर्माणको काम सुरु भएको थियो ।
अहिले पनि आर्थिक वर्ष ०६९/७० मा सुरु भएका कर्णाली करिडोर अन्तर्गतका सडकहरु विभिन्न चरणमा बनिरहेका छन् ।
निर्माण व्यवसायीहरुले नेपाली सेनाको सहयोग बिना सडक विस्तार गर्न सकिने अवस्था छैन् । हिमाली जिल्ला भएकै कारण अत्याधिक हिमपात र वर्षा हुन्छ ।
हिमपात र वर्षाकै कारण समयमै काम सम्पन्न गर्न पनि मुस्किल हुन्छ । काठमाडौंदेखि लैजाने निर्माण सामग्रीहरु पनि चीनको बाटो हुँदै लैजानुपर्ने हुँदा प्रक्रिया साह्रै झण्झटिलो हुने हिल्सा सिमकोट सडक योजनाका निमित्त प्रमुख बेलबहादुर नेपालीले बताए ।
नेपालका विभिन्न मन्त्रालयहरबाट अनुमति लिनुपर्छ । त्यस्तै नेपालका विभिन्न मन्त्रालयहरुबाट पनि अनुमति लिनुपर्छ ।
डिजेल, एक्साभेटर लगायतका मेसिनहरु पनि काठमाडौंबाटै हुम्ला पु¥याउनुपर्ने उनले बताए ।
उनका अनुसार चाइनिज दुतावासमा पनि अनुमति लिनुपर्ने भएकाले समयमै निर्माण सामग्री पुग्दैन ।
‘यहाँको सडक विस्तारलाई मुर्त रुप दिन ठाउँ ठाउँमा कैयौँ चुनौतिहरु रहेका छन् । एकै चरणमा काम सम्पन्न हुने अवस्था होइन,’ प्रमुख नेपालीले भने ।
नेपालीका अनुसार सडक विस्तारका लागि सबैभन्दा कठिन मोडका रुपमा १८ ठाउँमा रहेका डरलाग्दा चट्टानहरु बाधक बने । च्याछरा भिर, याल्बाङ गौडा भिर, सुनखाडा भिर, छारे भिर, बोक्च्यागौडा भिर, ब्युरा भिर, दुल्लीकुना भिर, सलिसल्ला भिर, बालुकुना भिर लगायतका १८ वटा डरलाग्दा चट्टानका भिरहरु रहेका छन् ।

भिरमा ब्लाष्टिङ नगरी हुँदैन । यस्तो अनुमति नेपाली सेनासँग मात्रै छ । यस्तो काम गर्न निर्माण व्यवसायीहरुले नेपाली सेनासँग सहकार्य गर्नै पर्नेहुन्छ ।
हाल लालिबगरदेखि लेप्च्यासम्मको ११ किलोमिटरको ट्याक खोल्ने काम भइरहेको छ । यसबाहेक अन्य सबै क्षेत्रको ट्याक खोलिसकिएको छ ।
लालिबगरदेखि लेप्च्यासम्मको सडक ट्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । सेनाले दिएको जानकारी अनुसार सो सडक आगामी नयाँ वर्षसम्ममा हस्तान्तरण भइसक्नेछ ।
अहिले सडक स्तरोन्नती र पुलको काम अन्तर्गत विभिन्न निर्माण व्यवसायी र नेपाली सेनाले काम गरिरहेका छन् । खार्पुनाथदेखि सिमकोट सडक १८ किलोमिटर सडक रहेको छ ।
सो क्षेत्रको ६५ प्रतिशत स्तरोन्नतीको काम भइसकेको छ । सिमकोटमा जग्गा विवादका कारण कार्य प्रगति देखिन नसकेको प्रमुख नेपालीको भनाइ छ ।
हिल्सा सिमकोट सडक अन्तर्गत ९५ प्रतिशत काम भएको छ ।
त्यस्तै सलिसल्लादेखि छारेभिरसम्मको २३ किलोमिटर बढी सडकको ट्याक पनि खोलिसकिएको छ । थप कामका लागि सडकको म्याद थपका लागि प्रक्रिया अघि बढिसकेको आयोजनाले जनाएको छ ।
सलिसल्लामा बेलिब्रिजको काम सम्पन्न भइसकेको छ । बेलिब्रिजबाट गाडिमोटर आवागमनमा सहजीकरण भएको छ । सर्केगाडसम्म गाडि पुग्दा व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गएको छ ।
त्यस्तै छारेभिरदेखि खार्पुनाथसम्मको सडकको १५ मिलोमिटर ३०० मिटर सडकको ७६ प्रतिशत काम सम्पन्न भएको निमित्त योजना प्रमुख नेपालीले जानकारी दिए ।
विभिन्न चरण गरी हाला चार वटा निर्माण व्यवसायीहरुले काम गरिरहेको उनले बताए । उनका अनुसार १८ ठाउँमा डरलाग्दा चट्टान र भिर छ । यी चट्टानमा सेनाले ब्लाष्टिङ गरी ट्याक खोलेको छ । द्रुत गतिमा काम अगाडि बढिरहेकै छ । तर हुम्लाजस्तो विकट जिल्लामा काम गर्न भने सहज छैन ।
६ वटा पुलमध्ये सलिसल्ला बेलिब्रिज सम्पन्न भइसकेको छ । त्यस्तै खार्पुनाथमा पनि पुलको ठेक्का छ । एकातिर ढलानको काम भइरहेको उनले बताए । तत्काल काठको पुल हालेर यातायात सुचारु गर्ने भन्नेबारे छलफल भइरहेको नेपालीले बताए ।

आर्थिक वर्ष ०६९ /७० देखि सुरु भएको सडक निर्माण विस्तारको काम ०८३ /८४ मा सकाउने लक्ष्य सरकारको छ । सडक निर्माण विस्तारका लागि गरी ६६ करोड ६१ लख ९० हजार बजेट छुट्याइएको थियो ।
नयाँ थप दुई किलोमिटर सडकको ट्याक खोलिएको छ । ३५ किलोमिटर सडकमा ग्राभेल हालिएको छ ।
जसमा भौतिक प्रगति अन्तर्गत २४.८ प्रतिशत र वित्तीय प्रगति अन्तर्गत २०.७६ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षमा मंसिरसम्मको ३५ प्रतिशत प्रगति रहेको निमित्त योजना प्रमुख नेपालीले जानकारी दिए ।
अहिलेसम्म जिल्लाका चंखेली गाउँपालिका, अदानचुली गाउँपालिका र सर्केगाड गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिसकेका छन् ।
सडक सञ्जाल जोडिएका पालिकामा यातायात मात्रै होइन व्यापारीक मार्गका रुपमा समेत परिचित हुन थालेका छन् ।
आर्थिक वर्ष ०८०/८१ मा सरकारले कालिकोटको खुलालुदेखि सल्लीसल्लासम्मको सडक स्तरोन्नति गर्न ९७ करोड बजेट बिनियोजन गरिएको छ ।
यस्तैे हुम्ला सदरमुकामलाई आउँदो चालु आर्थिक वर्षभित्रै राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ । हुम्लालाई राष्ट्रिय राजमार्गमा बाँकी खण्डको ट्याक खोल्ने कार्य आगाडि बढाइने सरकारको घोषणा छ ।































