हिमज्योति माविमा नयाँ प्रधानाध्यापक नियुक्तिविरुद्ध विद्यार्थीको प्रदर्शन

सर्केगाड, हुम्ला । सर्केगाड गाउँपालिका वडा नं. ४ मा अवस्थित हिमज्योति माध्यमिक विद्यालयमा हालै नियुक्त भएकी प्रधानाध्यापक कल्पना रोकायाको विरुद्धमा सोमबार विद्यालयका सम्पूर्ण विद्यार्थीहरूले एक स्वरमा विरोध जनाएका छन्।

कल्पना रोकाया सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाको श्रीमती हुन्। विद्यालयमा आफ्नो पहिलो कार्यदिवसकै दिन विद्यार्थीहरूले कक्षा बहिष्कार गर्दै उनको नियुक्तिको विरुद्ध प्रदर्शन गरेका हुन्।

उनीहरूले विद्यालयको आँगनमा नाराबाजी गर्दै नियुक्तिलाई ‘राजनीतिक हस्तक्षेप’ र ‘पारिवारिक चलखेल’ को परिणाम भनेका छन्।

विद्यार्थीहरूको आरोप छ कि योग्यताका आधारमा नभई राजनीतिक पहुँच र पारिवारिक सम्बन्धका कारण कल्पना रोकायालाई प्रधानाध्यापक बनाइएको हो।

“विद्यालय शिक्षा क्षेत्र हो, यहाँ राजनैतिक हस्तक्षेप अस्वीकार्य छ,” एक विद्यार्थी प्रतिनिधिले बताए।

विद्यालय व्यवस्थापन समिति र पालिका शिक्षा शाखाले भने उक्त नियुक्ति सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।

स्थानीय अभिभावक तथा समाजसेवीहरू पनि घटनाप्रति चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरिरहेका छन्।

यस विषयमा सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाको प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन सकेनन्।

विद्यार्थीहरूको आन्दोलनले विद्यालयको पठनपाठन प्रभावित भएको छ। स्थिति सामान्य पार्न विद्यालय प्रशासन, अभिभावक संघ र स्थानीय नेताहरूबीच समन्वय भइरहेको जनाइएको छ।