खच्चा सडक भाँसिदा वर्षेनी कर्णाली राजमार्ग अवरुद्ध, मर्मतमा बेवास्ता हुँदा नागरिक अलपत्र

हुम्ला । सर्केगाड गाउँपालिका वडा नं १ खच्चामा सडक भाँसिदा वर्षेनी  कर्णाली राजमार्ग अवरुद्ध हुने गरेको छ । गएरातिदेखि सडकमा सुख्खा पहिरो र सडक भाँसिदा सवारी साधन आउजाउमा समस्या परेको छ ।

अस्थायी प्रहरी चौकी बालुकुनाका अनुसार सो सडक वर्षेनी अवरुद्ध हुँदा राजमार्ग नै अवरुद्ध हुने गरेको छ । प्रहरीका अनुसार हरेक वर्ष सो सडक भाँसिन्दै गएको छ ।

स्थानीय डिल बहादुर कार्कीका अनुसार सो सडक मर्मत गर्न राज्यले चरम बेवास्ता गरेको छ । मर्मतमा सरकारले बेवास्ता गर्दा नागरिकले सास्ती खेप्नु परेको छ । कार्कीका अनुसार हिजो रातिदेखि गाडी फसेर सर्वसाधारण नागरिक अलपत्र परेका छन् ।

सडक खुलाउनका लागि डोजर ल्याउने भनिए पनि अहिलेसम्म डोजर पुग्न सकेको छैन् । स्थानीय सरकारले बेलैमा निर्माण व्यवसायीको भुक्तानी नदिदा समस्या भएको निर्माण व्यवसायीहरुले बताउँदै आएका छन् ।

पहिले सो सडक नेपाली सेनाले मर्मत गर्दै आएको थियो । तर पनि दिर्घकालीन मर्मतका लागि तीन वटै सरकारले चासो नदेखाउदा बाजुरा, मुगु र हुम्ला गरी तीन जिल्लाका लाखौँ यात्रुहरु अलपत्र पर्ने गरेका छन् ।

कालिकोटको खुलालुदेखि सलिसल्लाको ११२.१० किमी सडकमध्ये खच्चा सडकमा पुगेर यात्रु अलपत्र पर्नुपर्ने अवस्था छ ।

सो सडकलाई प्राथमिकताका साथ मर्मतका लागि स्थानीय सरकारले चासो देखाउने हो भने दिर्घकालीन समाधान निस्किने जानकारहरु बताउँछन् ।

सो सडकको हैरानी खेप्दै आएका सर्वसाधारण नागरिकले सडकको दिर्घकालीन मर्मतको माग राख्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले सो सडकखण्ड बाजुरा प्रशासनको रहेको बताए । उनले धेरै पटक जिल्ला प्रशासन कार्यालय बाजुरालाई सो सडकखण्ड स्तरोन्नतिका लागि आग्रह गरिसकेको बताए ।

‘सो सडक मर्मत र स्तरोन्नतिका लागि प्रशासनको ध्यानाकर्षण भएको छ । आजै जिल्ला प्रशासन कार्यालय बाजुरालाई लिखित पत्र पठाउँदैछु । वोदार्थ सडक विभागलाई पनि बुझाउँछु,’ उनले भने ।
प्रजिअ पोखरेलका अनुसार सडक मर्मत र स्तरोन्नतिका लागि आवश्यक समन्वय र पहल भइरहेको छ ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका सांसद छिरि डम्डुल लामा कार्चेन र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले कर्णाली राजमार्ग स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएपनि सरकारले सुनेको छैन् ।

उनीहरुले प्रतिनिधि सभा बैठकमै आवश्यक बजेट नछुट्याए सदन र सडक दुवैतिर आन्दोलन गर्ने चेतावनी पनि दिदै आएका छन् ।