सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२, ३ र ४ का सिमावर्ती क्षेत्रमा निर्माण सम्पन्न र निर्माणाधीन करिब १४ वटा ठूला–साना जलविद्युत् आयोजना सञ्चालन भइरहेका छन् । ती आयोजनाबाट प्रभावित स्थानीयवासीले आफ्नो हक–अधिकार सुनिश्चित गर्न ज्ञापनपत्र बुझाएका छन् ।
स्थानीयहरूका अनुसार जलविद्युत् आयोजनाले घर, जमिन, बोटबिरुवा र वातावरणमा क्षति पुर्याएको छ । त्यसका कारण प्रभावित जनताले उचित क्षतिपूर्ति, रोजगारीमा प्राथमिकता, र आधारभूत विकासका क्षेत्रमा सहभागीता सुनिश्चित गर्न माग गरेका छन् ।
ज्ञापनपत्र जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो तथा उर्जा मन्त्री कुलमान घिसिङ दुवैलाई बुझाइएको छ ।
स्थानीयवासीले राखेका मुख्य मागहरू यसप्रकार छन् :
१) क्षतिग्रस्त घर, जमिन र बोटबिरुवाको उचित मूल्याङ्कन गरी क्षतिपूर्ति दिनु पर्ने,
२) आयोजना निर्माण र सञ्चालनमा स्थानीय जनशक्तिलाई प्राथमिकतामा राखी रोजगारी सुनिश्चित गरिनु पर्ने,
३) सडक, स्वास्थ्य, शिक्षा र जलस्रोतको विकासमा स्थानीयलाई सहभागी गराइनु पर्ने,
४) नदी, जंगल र आसपासको वातावरण संरक्षणका लागि प्रभावकारी योजना लागू गरिनु पर्ने,
५) आयोजना सम्बन्धी योजना, निर्णय र अनुगमनमा स्थानीय समुदायको नियमित सहभागिता सुनिश्चित गरिनु पर्ने,
६) प्रभावित वडाका बासिन्दाले जलविद्युत् आयोजनाबाट १० प्रतिशत निःशुल्क सेयर पाउनु पर्ने।
स्थानीयवासीहरूले आफ्नो माग गम्भीरतापूर्वक सम्बोधन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै, समाधान नभएसम्म निरन्तर सम्पर्क र दबाब सिर्जना गरिरहने चेतावनी दिएका छन् ।