“युवाहरू जुटे, गोल्चे चम्किँदै”

सिन्धुपाल्चोक । जुगल गाउँपालिका वडा-२ गोल्चेका युवाहरु गाउँ सरसफाइ अभियानमा जुटेका छन् । गोल्चेका युवाहरूले सामूहिक श्रमदानमार्फत गाउँका बाटो, सार्वजनिक स्थलमर्मत र सरसफाइ गरेका हुन् ।

“गाउँ बदल्ने सपना देख्ने हो भने युवाको हात समात्नुपर्छ” भन्ने भनाइलाई गोल्चेका युवाहरुले व्यवहारमा उतारेका छन् ।
युवाहरूले लामो समयदेखि उपेक्षित रहेका स्थानहरूलाई सफा र सुन्दर बनाएका छन्। “हाम्रो गाउँ हामी आफैं बनाउँ” भन्ने नाराका साथ सरसफाइ अभियान चलाएको स्थानीय रोहित तामाङले बताए ।

“गाउँका युवाहरू एकजुट भएर काम गरे भने गाउँको विकास छिटो हुन्छ । सबैले मिलेर यस्तै प्रयास गरेमा गाउँ अझ राम्रो र समृद्ध बन्नेछ,” तामाङले भने।

गोल्चे गाउँका युवाले देखाएको यो सक्रियता केवल एउटा अभियान होइन, नयाँ पुस्ताले गाउँप्रति जिम्मेवारी लिएको संकेत हो । युवाहरुको सक्रियता र उत्साहले अहिले गाउँमा नयाँ आशा पलाएको छ । यो सुरुवात निरन्तर जारी रह्यो भने स्थानीयवासी बताउँछन् । गोल्चे चाँडै ‘नयाँ सम्भावनाको गाउँ’का रूपमा चिनिनेछ।