चीन भूकम्प : कम्तीमा ९५ जनाको मृत्यु, १३० भन्दा बढी घाइते

काठमाडौँ — चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १३० नाघेको छ ।

मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।

नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बंगलादेशसम्म पनि महसुस गरिएको समाचारहरू आएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन दिएका छन् ।