काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न आगामी आर्थिक वर्षको बजेटमा नयाँ व्यवस्था ल्याएका छन् ।
पुनले मूल्य अभिवृद्धि कर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा ‘हार्मोनाइज्ड’ एचएस कोड अनिवार्य गरेका हुन् ।
एचएस कोड भनेको सामानको पहिचान आइडेन्टिटी नम्बर हो ।
मूल्य अभिवृद्धि कर २६ औँ संशोधन नियमावली–०८१ को अनुसूची–५, अनुसूची–५ को ९ख० र अनुसूची–६ संशोधन गरी बिजक जारी गर्दा एसएस कोड अनिवार्य गरिएको हो । नयाँ व्यवस्थाअनुसार बिजकको नयाँ ढाँचा राजपत्रमा प्रकाशित भइसकेको छ ।
मूल्य अभिवृद्धि करसम्बन्धी नियमावलीको अनुसूची–५ ख मा कर नयाँ बिजकको ढाँचा समावेश गरिएको छ ।
जसमा पहिलो कोठामा सि नं दोस्रो कोठामा एचएस कोड र तेस्रो कोठामा विवरण उल्लेख छ ।
यसअघि बिजकको पहिलो कोठामा सि नं र दोश्रोमा विवरण उल्लेख गर्ने गरिएको थियो ।
बिजको नयाँ ढाँचाअनुसार अबदेखि बिजक जारी गर्दा एसएस कोडको सुरुको चार अङ्क अनिवार्य खुलाएको हुनै पर्नेछ ।
यस्तै नियमावलीको अनुसूची–६ संशोधन गरी निकासी भन्ने शब्दको सट्टा निर्यात शब्द राखिएको छ ।
नयाँ व्यवस्थाले वैध वा अवैध बाटोबाट आयातित सामान छुट्टाउन सकिने र राजश्व वृद्धिमा उल्लेख्य सुधार हुने अर्थ मन्त्रालयको राजश्व महाशाखा प्रमुख एवं बजेट लेखन समितिका संयोजक सह–सचिव धनिराम शर्माले बताए ।
उनका अनुसार आगामी दिनमा कुनै पनि सामान वैध च्यानलबाट आएको हो वा होइन भन्ने छुट्टाउन सजिलो हुन्छ ।
‘बिजकमा बिक्री भएको सामानको एचएस कोड अनिवार्य गर्नुपर्ने व्यवस्थाले बजार अनुगमनका क्रममा अवैध रूपमा भित्रिएका सामान बिक्री वितरण भएरनभएको सजिलै ट्र्याक गर्न सकिन्छ’, शर्माले भने, ‘कुन सामान भन्सारको बाटो भएर आएको हो र कुन सामान भन्सार छली गरी आयात गरिएको हो छुट्ट्याउन सकिने भएकाले राजश्व वृद्धिमा यो व्यवस्थाले सकारात्मक नतिजा आउने छ ।’
गत जेठ १६ गतेबाटै नयाँ व्यवस्था कार्यान्वयनमा आइसकेको शर्माले जानकारी दिए ।
यो सँगै व्यक्तिगत प्रयोजनका नाममा अनौपचारिक च्यानलबाट ल्याएर बजारमा बिक्री गर्ने प्रवृत्तिसमेत निरुत्साहित हुने विश्वास अर्थ मन्त्रालयको छ ।
खासगरी विदेश भ्रमण वा रोजगारीबाट फर्कनेहरूले घरायसी प्रयोजनका लागि ल्याउन पाउने सुविधा प्रयोग गरी ल्याइएका सुन–चाँदीका गहना, मोबाइल, ल्यापटप, टिभी, क्यामेरा, घडी, मदिरा र कपडाजस्ता सामान बजारमा बेच्ने प्रचलन थियो ।
अब त्यसरी सामान ल्याएर बिक्री गर्ने व्यक्ति र व्यवसायी माथिसमेत कारबाही हुनेछ ।
यस्तै अनलाइन बिलिङ प्रणालीमार्फत आयातित सामान तथा आन्तरिक खपतको तथ्याङ्क सङ्कलनसमेत नयाँ व्यवस्थाले सहज हुनेछ ।


























