कर्णालीमा सकियो राष्ट्रिय सभाको मतदान, शतप्रतिशत मत खस्यो

सुर्खेत । राष्ट्रिय सभा सदस्यका लागि कर्णाली प्रदेशमा मतदान सकिएको छ । प्रदेशसभा सदस्य ४० र गाउँपालिकाका अध्यक्षरउपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुख १५६ गरी कुल १९६ जनाले मतदान गरेका हुन् ।

तीन सदस्यका लागि प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेदेखि मतदान सुरू भएको थियो ।

दिउँसो १ बजेसम्म स्थानीय तहका सबै मतदाताहरुले मतदान गरिसकेका थिए ।

राष्ट्रिय सभाको तीन सिटका लागि कर्णालीमा ६ जनाले उम्मेदवारी दिएका छन् ।

जसमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया रुकुम पश्चिम अन्य, नेकपा माओवादीका विष्णु बहादुर विक कालीकोट दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल दैलेख उम्मेदवार छन् ।

त्यस्तै नेकपा एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार रहेका छन् ।

निर्वाचन कार्यालयका अनुसार ३ बजेपछि मतगणना हुनेछ ।