जुम्ला । जुम्लाको सिंजा उपत्यकाका तीन वटा गाउँपालिकालाई जोड्ने पुल तयार भएसँगै आगामी बैशाखदेखि गाडी गुड्ने भएका छन् । पुल निर्माणको मुख्य भाग सम्पन्न भइसकेको र बाँकी सर्पोट दिने काम सम्पन्न भएलगत्तै मोटर गुड्ने भएको हो ।
यसले जुम्लाका सिंजा गाउँपालिका, हिमा गाउँपालिकाका गाउँहरुलाई जोड्ने काम गरेको छ । वडा नम्बर १ का स्थानीय तथा कानुन व्यवसायी मिनराज आचार्यका अनुसार सो पुल तीन वटा गाउँपालिकाको मध्यविन्दु भएर जोड्छ ।
उनका अनुसार पुल सिंजा गाउँपालिका वडा नम्बर १ जाच गाउँमा बनेको छ । सो पुल निर्माण सर्केगाड गाउँपालिका हुम्लामा रहेको पाराडिसो कन्ट्रक्सन कम्पनीले गरेको हो ।
उनका अनुसार वडा नम्बर २ र हिमा गाउँमा पक्की पुलको ठेक्का परेपनि निर्माण व्यवसायीले काम गर्न सकेनन । तर, प्याराडिसोले समयमै काम सम्पन्न गरी उदाहरणीय काम गरेको छ ।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार सो पुल अघिल्लो कार्यकालमै ठेक्कामा दिइएको थियो ।
सो समयमा ठेक्का हात पारेको निर्माण कम्पनीले लामो समय काम गर्न नसक्दा पाराडिसो कन्ट्रक्सन कम्पनीलाई ठेक्का दिइएको अध्यक्ष धितालले कर्णाली बुलेटिनलाई जानकारी दिए ।
‘यो पुल पहिलाकै जनप्रतिनिधिहरुले ठेक्कामा लगाए पनि त्यो बेलाको निर्माण व्यवसायीले लामो समय पुल निर्माणको काम अलपत्र पारिदियो । अहिले हामीले स्थानीय जनता र पाराडिसो कन्ट्रक्सन कम्पनीसँग सम्झौता गरी पुल निर्माणको काम अघि बढाएका थियौँ । पुल निर्माण अन्तिम चरणमा पुगेको हो,’ कर्णाली बुलेटिनसँग कुराकानीका क्रममा उनले भने ।
पुल निर्माणको काममा स्थानीय र वडाध्यक्षहरुको पनि सहयोग रहेको अध्यक्ष धितालले बताए । ‘अब पुलको मुनिपट्टी सर्पोट दिन बाँकी छ । छेउछाउमा रहेका जग्गा दाताहरुले आफ्नो जग्गा पर्यो भनेर केही अवरोध भएको छ । सबै समस्या समाधान गरेर अब बैशाखसम्म मोटर गुड्ने हुन्छ,’ उनले भने ।

मोटरेबल पुलकै कारण सिंजा गाउँपालिका, हिमा गाउँपालिका र मुगुका बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । वडा नम्बर १ का जनताहरु पालिका नराकोटसँग जोडिनेछन ।
अध्यक्ष धितालका अनुसार पुलमा मोटर गुड्न थालेपछि नाग्मा गमगढीको घुमाउरो बाटो हिड्नुपर्ने छैन । राजमार्गको बाटो हुँदै सिधै नराकोट आइपुग्छन् ।
पुलको निर्माणपछि सवारी साधन ओहोरदोहोरमा सहज भएसँगै स्थानीय स्तरमा उत्पादित कृषि जन्य सामग्री सोझै बजारसम्म लैजान समेत सहज हुने पालिकाले जनाएको छ ।
यस स्थानमा केही वर्ष अघि मात्रै काठको जोखिम पुल थियो । यद्यपि मोटरेबल पुल नहुँदा बर्खाको समयमा सवारी आवतजावतमा समस्या हुने गरेको थियो। पक्की पुलको निर्माणले अब त्यो समस्या रहने छैन ।
कर्णाली प्रदेश सरकारको लगानीमा बनेको पुल हो ।

































