काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा निकै राम्रो काम भएको तर जस अरुले लिएको दाबी गरेका छन् ।
शनिबार माओवादी केन्द्रको बुढानिलकण्ठ नगर सम्मेलन उद्धघाटन गर्दै क्रममा यस्तो बताएका हुन ।
उनले काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा सिङ्गो देश उज्यालो बनाउने गरी योजना बनेको बताए ।
‘देशमा विकास र समृद्धिका जति काम भएका छन्, तीमध्ये मुख्य कामहरु हाम्रै पालामा भएका छन् । मैले तीन पटक सरकारको नेतृत्व गर्दा केही रणनीतिक महत्वका काम गरेको छु । तर हामीले आफूले गरेका कामको जस लिन सकिरहेका छैनौं । विरोधीले पिठो बेचिरहेका छन्, हामीले चामल बेच्न पनि सकेनौं,’ प्रधानमन्त्री प्रचण्डले भने ।
पहिलो कार्यकालमा गरिब किसानको एक लाखसम्मको ब्याज र तीस हजारसम्मको सावा नै मिनाहा गरिएको पनि उनले बताए । त्यस्तै पूर्व पश्चिम, उत्तरदक्षिण परियोजनाहरु अगाडि सारिएको पनि बताएका छन् ।
































